सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुँदै

वासिंटन – अमेरिकाको वासिंटन स्थित सियाटलमा नेपाली वाणिज्य दूतावास स्थापना हुने भएको छ ।

नेपाल सरकारद्वारा नियुक्त अवैतनिक वाणिज्यदूत एसी शेर्पाले आगामी अप्रिल २९मा औपचारिक रुपमा दूतावास स्थापना गर्ने भएका हुन् ।

उक्त स्थापना कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीसहित  वाणिज्य सियाटलस्थित सिटी अफ रेडमण्डका मेयर जोन मार्क क्वाईन,  सिटी अफ बेथलका मेयर एण्डी रेयुमी, एनआरएन अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा, अमेरिका एनआरएनका अध्यक्ष डा. केशव पौडेललगायत विशिष्ठ अतिथिहरूको उपस्थिति हुने शेर्पाले बताए ।

सो कार्यक्रममा सियाटलमा रहेका नेपाली समुदायका प्रतिनिधिहरूको उपस्थिति रहनेछन भने साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ । साँस्कृतिक कार्यक्रममा गायक आङगेलु शेर्पा र डिजे तेन्जिङको विशेष प्रस्तुति रहनेछन ।

अमेरिकामा रहेर सामाजिक काम, पर्यटन प्रर्वद्धन एवं व्यवसायमा संलग्न शेर्पालाई चार वर्षका लागि नेपाल सरकारले अवैतनिक वाणिज्य दूतमा नियुक्त गरेको हो ।

दूतमा नियुक्तिसँगै उनले दूतावास स्थापना गर्ने निर्णय गरेका हुन् ।  वाणिज्यदूतमा नियुक्ति भएसँगै उनले भनेका थिए, ‘मैले नेपालीका लागि सक्दो काम गर्दै आएको छु अब झनै जिम्मेवारी थपिएको छ, म मेरो दायित्वबोध गर्दै नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने काममा अगाडि बढ्छु।’

Source :http://www.nagariknews.com/news/18249/